धरान (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा बाढीका कारण थुनिएका २५ जनाको उद्धार गरिएको छ ।
बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बराहक्षेत्र–६ ठाकुरवारीस्थित कोशीको बीच टापुमा भैंँसीपालन गरी बस्दै आएकाहरु शुक्रबारदेखि सप्तकोशी नदीमा आएको बाढीले अलपत्र परेका २५ जनालाई आइतबार प्रहरीको सहयोगमा डुङ्गामार्फत उद्धार गरिएको जानकारी दिए ।
प्रतिकूल मौसका कारण शनिबार उनीहरुको उद्धार गर्न नसकिएको नगरप्रमुख कार्कीले बताए । शनिबार बिहानदेखि उनीहरुको उद्धारका लागि प्रहरी परिचालन गरिए पनि निरन्तर वर्षा भइरहेकाले तत्काल उद्धार सम्भव नभएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीेसहितको टोलीले हेलिकप्टरमार्फत उद्धार गर्न सङ्घीय सरकारसँग समन्वय गरेको थियो ।
नगरप्रमुख कार्कीले भने, “शुक्रबारदेखि कोशी नदीमा जलसतह बढेर बाढी आएपछि उहाँहरु निस्कन नसकेर श्रीलङ्का टापु ठाकुरवारी क्षेत्रमा अलपत्र पर्नुभएको थियो ।” आइतबार कोशीमा पानीको बहाव घटेसँगै बिहान नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा डुङ्गामार्फत २५ जनाको सकुसल उद्धार गरिएको उनले जानकारी दिए ।