काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले देशभर बाढीपहिरो पीडितहरूको सहयोगको लागि यन्त्र उपकरणसहित उद्धार कार्यमा जुट्न निर्माण व्यवसायीलाई आग्रह गरेको छ ।
महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै देशभरका अवरुद्ध राजमार्ग तथा बाटाघाटा सुचारु गर्न तथा बाढीपहिरोमा परी बेपत्ताहरूको खोजी गर्नका लागि यन्त्र उपकरणसहित उद्धार कार्यमा जुट्न आग्रह गरेको हो । पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन समेत सरकार समक्ष अपिल गर्दै महासंघले सरकारको उद्धार तथा राहत अभियानमा सक्रियरूपमा सहभागी हुन सबै व्यवसायीलाई पनि अनुरोध गरेको छ । साथै, बाढी पहिरोका कारण घाइते भएका सर्वसाधारणसहित क्षतिग्रस्त परियोजनाका सम्बन्धित निर्माण कम्पनीहरू/व्यवसायीहरूलाई यथाशीघ्र राहत उपलब्ध गराउन पनि महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
‘विगत केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको ठूलो क्षतिप्रति नेपाल निर्माण व्यवसायी महासंघले गहिरो दुःख व्यक्त गरेको छ’, महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’ साथै तत्काल उनीहरूको उपचारको भरपर्दो व्यवस्था मिलाउन पनि महासंघले सरकारसँग माग गरेको छ । बाढी पहिरोको चपेटामा परेको देशभरका निर्माण व्यवसायीहरूलाई क्षतिको विवरण महासंघ सचिवालयमा उपलब्ध गराउन पनि महासंघले विज्ञप्तिमार्फत अपिल गरेको छ ।