काठमाडौं, असार १९
नेपाल वायुसेवा निगमले शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन मुलुकमा चार्टर्ड उडान गर्ने भएको छ । निगमले नेपाली सैनिकलाई संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा लैजानचार्टर्ड उडान गर्ने जनाएको छ । निगमको बजार विविधीकरणको योजनाअनुरुप संयुक्त राष्ट्रसंघको सेन्ट्रल अफ्रिकन रिपब्लिकन र मलिको मिनुसामा नेपाली सेनालाई लैजाने सम्बन्धमा निगम र नेपाली सेनाका उच्च अधिकारीबीच बिहीबार सम्झौता भएको हो ।
सम्झौतानुसार मिसनका लागि खटिने नेपाली सेनालाई आगामी असार २४ गते अर्थात जुलाई ८ तारिखमा वाइड बडी जहाजमार्फत अफ्रिकन रिपब्लिक र माली लगिनेछ । निगमको वाइडबडी जहाज काठमाडौँबाट कतारको दोहामा प्राविधिक उडान गर्दै त्यहाँबाट सेन्ट्रल अफ्रिकन रिपब्लक पुग्ने जनाइएको छ । सोही जहाजबाट शान्ति मिसनमा रहेका ती मुलुकबाट सैनिक स्वदेश फर्काइनेछ । नयाँ गन्तव्यको चार्टर्ड उडानलाई कम्पनीले चुनौती र अवसर दुवैरुपमा लिएको निगमले जनाएको छ । निगमले जुन १२ तारिख र त्यसपछि हुने दक्षिणी सुडानलगायत गन्तव्यको उडान तालिका छिट्टै निर्धारण हुने उल्लेख गरेको छ ।