काठमाडौं । कुमारी बैंक लिमिटेड र ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडबीच ग्राहकलाई सहज तवरले लघुबीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । ट्रस्ट माइक्रो इन्स्योरेन्ससँगको सम्झौतामा अब कुमारी बैंकले आफ्ना ग्राहकहरूको घर, सवारी साधन, व्यवसाय साथै अन्य सम्पत्तिहरूको सरल तरिकाले लघुबीमा गराउन सक्नेछन् ।
लघुबीमा विशेष गरी न्यून आय भएका व्यक्तिहरूको आर्थिक सुरक्षाका लागि र अनिश्चित परिस्थितिहरूबाट जोगिनका लागि हो । लघुबीमाले ग्राहकहरूलाई आर्थिक घाटाको सामना गर्न र कुनै कारणवश भएको क्षतिलाई पुन: प्राप्ति गर्न मद्दत दिलाउँछ ।
नेपालका नागरीकलाई किफायती र सुलभ लघुबीमाका साथ सशक्त बनाउँदै, लचिलोपन निर्माण गर्दै र सबैका लागि वित्तीय सुरक्षातर्फको बाटो प्रज्वलित गर्दै, नेपालमा अग्रणी भूमिका खेल्दै गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले अघिल्लो सालबाट आफ्नो कारोबार सुरु गरेको हो । हाल यस इन्स्योरेन्सले ३१ वटा शाखा, उपशाखा तथा एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।
त्यस्तैगरी विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका तीन सय दुई वटा शाखा सञ्जाल, तीन सय १९ वटा एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।