काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको सम्पूर्ण प्रदेशका कृषि क्षेत्रको विकासका लागि प्रदेशगत विशेष कृषि उपजहरूका आधारमा अधिकतम पाँच करोड रुपैयाँसम्म एक प्रदेश एक विशेष कार्यक्रमअन्तर्गत प्रदेश विशेष कृषि कर्जा प्रदान गर्ने प्रोडक्टको शुभारम्भ गरेको छ । कानुनीरूपमा फर्म वा कम्पनीमा दर्ता भई कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेरसम्मका नेपाली नागरिकले कर्जाको लागि आवेदन दिन सक्नेछन् ।
कोशी प्रदेशमा अलैँची, मधेश प्रदेशमा माछा, बाग्मती प्रदेशमा कुखुरा, गण्डकी प्रदेशमा फलफूल, लुम्बिनी प्रदेशमा पशुपालन, कर्णाली प्रदेशमा जडिबुटी र सुदूरपश्चिम प्रदेशमा केरा खेतीलाई विशेष कृषि उपज निर्धारण गरी बैंकले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने छ । आधार दरमा शून्य दशमलव ५० प्रतिशत प्रिमियम जोडी व्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ । ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रूपमा रहने छ भने आवश्यकताअनुसार घर÷जग्गा समेत धितो सुरक्षणको रूपमा स्वीकार गर्न सकिने छ । कर्जाको बीमा गर्ने छ । बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयहरूबाट प्रदेश विशेष कृषि कर्जा प्रदान गरिने छ ।
हाल सात वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका दुई सय ९४ वटा शाखा कार्यालय, तीन सय १२ वटा एटीएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७३ वटा एक्स्टेन्सन काउन्टर, क्युआर कोड सेवा, पीओएस (प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्युआर टेलर (विनाचेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृतरूपको मोबाइल बैंकिङ (डिजिटल संसार) तथा विनाइन्टरनेट चल्ने मोबाइल बैंकिङका सेवाहरू समेत सञ्चालनमा रहेका छन् ।