काठमाडौं असार १९
मञ्जुश्री फाइनान्स लिमिटेडले ५० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । फाइनान्सले वार्षिक १० दशमलव पाँच प्रतिशत ब्याज दिने गरी आठ वर्षे अवधिको ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्र जारी गर्न फाइनान्सले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल चुक्ता पुँजी ८१ करोड ८१ लाख रुपैयाँ र १९ करोड ७२ लाख रुपैयाँ सञ्चित कोष रहेको यस वित्तीय संस्थाले ऋणपत्र जारीपश्चात प्राप्त पुुँजीबाट संस्थाको थप व्यापार विस्तार र लगानीकर्ताको प्रतिफलमा उल्लेख्य वृद्धि हुने अपेक्षा फाइनान्सले गरेको छ ।
फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १९ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुलनामा तीन सय २२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा चार करोड ५७ लाख रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८१ करोड रुपैयाँ रहेको फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक अवधिमा पाँच अर्ब ५० करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरी पाँच अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा २९ करोड ११ लाख रुपैयाँ खुुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने १८ करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुुई दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रति सेयर नेटवर्थ एक सय २५ रुपैयाँ आठ पैसा रहेको फाइनान्समा कर्जा तथा निक्षेप बीचको ब्याजदर अन्तर (स्प्रेडदर) भने चार दशमलव ५२ प्रतिशत रहेको छ ।