काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीहरूलाई १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
संघका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा सोमबार साँझ बसेको आकस्मिक बैठकले नेपालका बाढीपीडितहरूका लागि सो सहयोग गर्ने निर्णय गरेको हो । संघले पहिलो चरणमा १० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने र बाँकी पाँच लाख रुपैयाँपछि थप गर्दै जाने निर्णय गरेको छ । संघका महासचिव गोविन्द खरेलले सञ्चालन गरेको बैठकले उपाध्यक्ष सुरेश परियारको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको छ ।
बैठकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिम्खडा, युरोप क्षेत्रीय उपसंयोजक महेश अधिकारी, आईसीसी सदस्यहरू चिरन शर्मा, विष्णु चालिसे, दिलराज गुरुङ, गैरआवासीय नेपाली संघ युकेका पदाधिकारी तथा सदस्यहरू, स्कटल्यान्ड राज्य परिषद्का अध्यक्ष दिवाकार पाण्डे, इङ्ल्यान्ड राज्य परिषद्का अध्यक्ष शम्भु अर्यालसमेतको उपस्थिति थियो ।