काठमाडौँ । कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोहीअनुसार सतर्क रहन सम्बद्ध अधिकारीहरुलाई गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको बुलेटिनलाई दृष्टिगत गरी तीन वटै सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र र स्थानीय तहहरूलाई गृहमन्त्री लेखकले बुधबार निर्देशन दिएका हुन् ।
लेखकले भने, “वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई सतर्क रहन निर्देशन दिएको छु ।”
थप समन्यव र सोसम्बन्धी आवश्यक काम कारबाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरण तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताए । मन्त्री लेखकले यसअघिको बाढी र पहिरोले मुलुकका प्रमुख राजमार्गहरु अवरुद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउनसमेत आग्रह गरेका छन् ।
महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आमनागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ ।