काठमाडौं । टेलिमेटिक्स टेकले दशैँको विशेष उपहारस्वरूप लामो दूरीका रात्रिबसहरूमा निःशुल्क जीपीएस उपकरण वितरण गर्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ‘फस्ट कम, फस्ट सर्भ’ आधारमा एक हजार वटा लामो दूरीका रात्रिबसहरूमा जीपीएस प्रणाली निःशुल्क जडान गरिने कम्पनीका संस्थापक आतिस गैरेले बताए ।
‘दशैँजस्तो चाडपर्वमा जब लाखौँ नेपालीहरू लामो दूरीको यात्रा गरेर आफ्ना परिवार र गाउँघर फर्किन्छन्, बस सञ्चालकहरूका लागि यात्रुको यात्रालाई सुरक्षित बनाउनु अत्यन्त जरुरी हुन्छ,’ उनले भने, ‘हामीले वितरण गर्ने यो जीपीएस उपकरण बस सञ्चालकहरूको लागि हो, जसले बसको हरेक गतिविधि वास्तविक समयमा ट्«याक गर्न मद्दत पुर्याउनेछ ।’ यसले बस कम्पनीलाई तत्कालको बसको वास्तविक अवस्थिति र सञ्चालनबारे जानकारी दिनेछ ।
जियोमेटको जीपीएस प्रणाली मुख्यतः बस सञ्चालकहरूको लागि उपयोगी छ । यसले बसलाई वास्तविक समयमा ट्र्याक गर्न मद्दत गर्छ । बस अहिले कहाँ छ, कति गतिमा गुडिरहेको छ र कुन रुटमा चलिरहेको छ भन्ने जानकारी दिने कम्पनीले जनाएको छ । यो प्रणालीले बस सञ्चालकहरूलाई सर्भिसिङको सही समय पहिचान गर्न र इन्धनको खपतको अनुगमन गर्न समेत सहयोग गर्छ । साथै, बस सञ्चालकहरूले जहाँबाट पनि मोबाइल वा कम्प्युटरमार्फत आफ्ना बसहरूको अवस्थिति हेर्न सक्छन् ।