काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले विपन्न वर्गमा तीन खर्ब रुपैयाँभन्दा बढी कर्जा दिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउन मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा संस्थाहरुले विपन्न वर्गमा कुल तीन खर्ब सात अर्ब ७९ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन । जुन कुल कर्जा प्रवाहको छ दशमलव २२ प्रतिशत हो । तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले साउन मसान्तसम्म ५१ खर्ब ६५ अर्ब १३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
गएको आर्थिक वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाहरुले ४८ खर्ब ५७ अर्ब १३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसमध्ये छ दशमलव ७५ प्रतिशत अर्थात् तीन खर्ब नौ अर्ब ५० करोड ८० लाख रुपैयाँ विपन्न वर्गमा प्रवाह भएको छ ।
वाणिज्य बैंकहरुले २०८१ साउन मसान्तसम्म विपन्न वर्गमा कुल दुई खर्ब ६३ अर्ब ६३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन कुल कर्जा प्रवाहको छ दशमलव शून्य तीन प्रतिशत हो । समीक्षा अवधिमा वाणिज्य बैंकहरुले प्रवाह गरेको कुल कर्जा ४५ खर्ब ६५ अर्ब ३३ करोड ९० लाख रुपैयाँ छ ।
गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले कुल ४२ खर्ब ९४ अर्ब ७५ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा त्यसको छ दशमलव ४९ प्रतिशत अर्थात् दुई खर्ब ६५ अर्ब ४० करोड ९० लाख रुपैयाँ विपन्न वर्गमा प्रवाह भएको थियो ।
विकास बैंकहरुले भने २०८१ साउन मसान्तसम्ममा विपन्न वर्गमा कुल ३७ अर्ब ७० करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन कुल प्रवाह भएको कर्जा चार खर्ब ९९ अर्ब ४९ करोड ७० लाख रुपैयाँको सात दशमलव ७४ प्रतिशत हो ।
गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुले चार खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा त्यसको आठ दशमलव ७८ प्रतिशत अर्थात ३९ अर्ब ३१ करोड ९० लाख रुपैयाँ विपन्न वर्गमा प्रवाह गरेका थिए ।
फाइनान्स कम्पनीहरुले गत साउन मसान्तसम्म एक खर्ब २९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये सात दशमलव २७ प्रतिशत अर्थात् छ अर्ब ४५ करोड ९० लाख रुपैयाँ विपन्न वर्गमा प्रवाह भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरुले कुल ९२ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा विपन्न वर्गमा मात्र कुल आठ दशमलव ७६ प्रतिशत अर्थात पाँच अब ६७ करोड ९० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए ।