जलेश्वर (महोत्तरी) बाढीका कारण जलेश्वर–२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर डुबानमा परेको छ । पूजारी राम पृत गिरीले मन्दिरको गर्भगृहमा चार फिट पानी जमेकै कारण बिहीबार बडा दसैँको घटस्थापनाको दिन माताको प्रतिमा अगाडि जमरा राख्न नसकिएको बताए । पानीले माताको प्रतिमा डुबानमा परेको छ ।
मन्दिर बाहिरका भू–भाग पनि जलमग्न रहेको हुँदा मन्दिरको पछाडिपट्टीको खाली भागमा पूजा अर्चना गरी जमरा राखिएको पूजारी गिरीले बताए । उक्त मन्दिर जलेश्वर नगरपालिकाको सबैभन्दा होचो ठाउँमा रहेको कारण बाढी गएको पाँच दिन भइसक्दा पनि पानीको सतह कम नभएको हो । मन्दिर डुबानका कारण बडादसैँको पूजाआजा प्रभावित हुने अनुमान गरिएको छ ।
सबै शक्ति पीठमा बडा दसैँको पूजा अर्चना भइरहँदा जलेश्वर नगरपालिकालाई दमकल लगाएर माता राजदेवीको गर्भगृहको पानी बाहिर निकाल्न अनुरोध गरेपनि नगरपालिकाले चासो नदेखाएको पूजा समितिका अध्यक्ष अमितकुमार साहले गुनासो गरे । राजदेवी मन्दिरको गुफा, बाहिरी सतह र मन्दिर जाने बाटोसमेतमा पानी जमेको छ ।