काठमाडौं । सूचना प्रविधि तथा साइबर सेक्युरिटी विज्ञ निरन्जन कुँवर बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्श दातृ कम्पनी जेनेस सलुसनको प्रमुख प्रविधि अधिकृत (सीटीओ) तथा प्रमुख सूचना सुरक्षा अधिकृत (सीआईएसओ) नियुक्त भएका छन् ।
द हंगकंग पोलिटेक्निक विश्वविद्यालयबाट सूचना प्रविधिमा एमएससी तथा रुसको सेन्ट पिटर्सवर्ग स्टेट युनिभर्सिटी अफ टेलिकम्युनिकेसन्सबाट रेडियो कम्युनिकेसन्समा समेत एमएससी गरेका कुँवरले अमेरिकास्थित द क्वान्टिक स्कुल अफ बिजनेस एण्ड टेक्नोलोजीबाट एमबीए गरेका छन् । यसैगरी उनले सूचना प्रणाली तथा साइबर सेक्युरिटीसम्बन्धी विभिन्न प्रतिष्ठित प्रमाणपत्रहरू पनि प्राप्त गरेका छन् ।
जेनेस सलुशनसँग आबद्ध हुनुभन्दा पहिले कुँवर सन् २०२१ देखि २०२४ सम्म प्रतिष्ठित अमेरिकी कम्पनी, भोन्टिएरमा सूचना सुरक्षासम्बन्धी वरिष्ठ निर्देशकको रूपमा काम गरेका थिए । त्यस्तै, उनले म्याकएफी, पोलिकम, माइमकास्ट, रिलायन्स ग्लोबलकम, सिपसर्भ, हिमालयन कम्प्युटर्सलगायतका कम्पनीहरूमा काम गरेका थिए । पोखरामा जन्मिएर पोखरामै पढेका निरन्जनले उच्च शिक्षाको क्रममा रुसमा छ वर्ष तथा हंगकंगमा आठ वर्ष बिताएका थिए । जेनेस सलुसनका नेपाल, बंगलादेश, स्पेन, युके, युएस लगायत विश्वका १० मुलुकहरूमा कार्यालय छन् ।