काठमाडौं । सिन्धुपाल्चोकमा जन्मेर अमेरिका बसोबास गर्दै आइरहेकाहरूको संस्था सिन्धु सोसाइटीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा जिल्लाबाट उत्कृष्ट हुनेलाई सम्मान गरेको छ । जिल्लाबाट परीक्षामा सामेल भएर उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई सम्मान गरिएको हो ।
जिल्लाबाट एसईई परीक्षामा सामेल भएर सर्वोत्कृष्ट अंक ल्याउने भूमेश्वरी माध्यमिक विद्यालयकी छात्रा नविना भण्डारी र इस्ट पोइन्ट एकेडेमी गणेश जोतीलाई जनही नगद ५१ हजार रूपैयाँसहित सम्मान गरिएको सोसाइटीका अध्यक्ष सूर्य खड्काले बताए । काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बेदबहादुर श्रेष्ठलगायतले विद्यार्थीलाई सम्मान गरेका हुन् । २०१० मा स्थापना भएको संस्थाले सुरुवातदेखि नै सिन्धुपाल्चोकका जेहेन्दार तथा अशक्त, असहाय विद्यार्थीहरूलाई निःशुल्क पढाइरहेको छ । संस्थाले हाल २७ जना विद्यार्थीलाई निःशुल्क पढाइरहेको जानकारी दिएको छ ।