मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट आठ किलो दुई सय ४३ ग्राम ९७० मिलिग्राम सुनजस्तो देखिने धातुसहित दुई जना भारतीय नागरिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र सांगली दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूले आफ्नो शरीरको विभिन्न भागमा लुकाई छिपाई ल्याएको आठ थान बिस्कुट आकारको उक्त तौलको धातु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने प्रहरीले जनाएकोे छ ।