गोरखा । यही असोज १२ गते त्रिशूली नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको सहिदलखन गाउँपालिका–४ ठेउवाटार र आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ ।
झोलुङ्गे पुल बगाउँदा त्यहाँका करिब दुई सय ५० भन्दाबढी घरपरिवार समस्यामा परेका छन् । ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटार जोड्ने झोलुङे पुल बगाएपछि अहिले यस क्षेत्रका बासिन्दालाई दैनिक आवतजावतमा समस्या भएको हो ।
ठेउवाटारबाट अलि नजिकै रहेको अर्को झोलुङे पुलमा पनि बाढीले दुवैतर्फको लठ्ठा चुँडाएर क्षति पुर्याएको भन्दै सहिदलखन–४ का वडाध्यक्ष यामबहादुर थापाले क्षतिग्रस्त पुल तत्काल मर्मत नगरी नहुने अवस्थामा रहेको बताए । उनले भने, “क्षतिग्रस्त पुलबाट हिँडडुल गर्दा ज्यान जोखिममा राख्नुपर्ने बाध्यता यहाँका स्थानीयवासीको छ ।”
“ठेउवाटार, करङबगर, माथिल्लो ठेउवाटार, तेर्से, बाहुनथोकलगायत क्षेत्रका स्थानीयलाई त्रिशूली नदी तरेर कुरिनटारसम्म पुग्नका लागि सहजै अर्को विकल्प छैन”, वडाध्यक्ष थापाले भने, “दिनहुँ आवतजावत गर्नुपर्ने ठाउँमा घण्टौँ लगाएर अर्कोबाटो जानुभन्दा नजिकैको अर्को क्षतिग्रस्त पुलबाट जोखिम मोलेर अहिले स्थानीय आवजावत गरिरहेका छन् ।”
उनका अनुसार विद्यार्थीलाई विद्यालय तथा कलेजमा आवतजावत गर्न र किसानलाई आफूले उत्पादन गरेको दूध र तरकारी बजारसम्म पुर्याउन कठिनाइ हुँदै आएको छ ।