काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड अब सातै प्रदेशमा पुगेको छ । बैंकले यही असोज १९ गते शनिबार कर्णाली प्रदेशको वीरेन्द्रनगर, सुर्खेत र २०८१ असोज २० गते सुदूरपश्चिम प्रदेशको धनगढी, कैलालीमा एकै साथ दुईवटा नयाँ शाखा कार्यालयको उद्घाटन गरेसँगै बैंक सात वटै प्रदेशमा पुगेको हो । उक्त शाखा कार्यालयको स्थापनासँगै, यस बैंकले नेपालका सातै प्रदेशहरूमा आफ्नो शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार ‘क’ वर्गका बैंकले सबै प्रदेशमा कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था छ ।
उपरोक्त दुवै शाखा कार्यालयहरूको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भर्चुअलरूपमा गरेका छन् । यसका साथै २०८१ असोज १९ गतेको वीरेन्द्रनगर सुर्खेत शाखाको उद्घाटन समारोहमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहको समेत उपस्थिति रहेको थियो । दुवै शाखाको उद्घाटन समारोहमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको सञ्चालक समितिका सदस्य सिद्धान्तराज पाण्डेयले सञ्चालक समितिको प्रतिनिधित्व गरेका थिए । सो समारोहमा धन्यवाद ज्ञापन गर्दैै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले उक्त शाखाहरू स्थापनाका क्रममा नेपाल राष्ट्र बैंकको मार्गदर्शन र सहयोगको लागि कृतज्ञता व्यक्त गरेका थिए ।
देशभरिका ग्राहकलाई वित्तीय सेवाहरूको पहुँच विस्तार गर्ने महत्वपूर्ण भूमिकामा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रतिबद्धता रहेको छ र नेपालमा एक मात्र अन्तर्राष्ट्रिय बैंकको रूपमा रहेको यस बैंकले अन्य विविध बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । उपरोक्त नयाँ शाखाहरूले स्थानीय व्यवसाय र ग्राहकलाई गुणस्तरीय वित्तीय सेवाहरू प्रदान गर्ने र वित्तीय आवश्यकता परिपूर्ति गर्ने लक्ष्य राखेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले यी नयाँ शाखा कार्यालयहरूको स्थापनाबाट वीरेन्द्रनगर र धनगढीको आर्थिक विकासका लागि थप अवसरहरू सिर्जना गर्ने विश्वास बैंकले लिएको छ ।