हेटौडा । अविरल बर्षाको कारण हेटौडा फाखेल हुदै काठमाण्डौ जोडने बैकल्पिक छोटो मार्ग हिजो आईतबार बेलुका देखि संचालनमा आएको छ। बागमती प्रदेश भौतिक तथा पूर्वाधार मन्त्रालयको पहल तथा पूर्वाधार बिकास निर्देशनालयको सक्रियता संगै करिब १० दिन पछि अबरुद्द फाखेल हुदै काठमाण्डौ जाने बाटो संचालनमा आएको हो । अविरल बर्षाको कारण कतिपय ठाउमा करिब १ किमी सम्म बाटो नै बगाएको थियो। बाटो बगाएको ठाउमा नयाँ डाइभार्सन बनाएर नयाँ खोली बाटो संचालनमा ल्याइएको हो।
हेटौडा बाटो काठमाण्डौ जोडने सबै बैकल्पिक मार्गहरु बन्द हुदा यात्रीले सास्ती खेप्नु परेको थियो। बाटो बन्द खुलाउनको लागि त्यस क्षेत्रका माननीय सांसद तथा स्थानीय प्रतिनिधिहरुको सक्रियता पनि उल्लेख्य रहेको छ। बाटो खुले संगै सवारी साधनको चाँप बढ्ने भएकोले जिल्ला प्रहरी कार्यलय मकवानपुरले तोकिएको रुट प्रयोग गर्न आग्रह गरेको छ।
तोकिएको रुटमा अतिआवश्यक एम्बुलेन्स लगायत हलुका सवारी साधन र चार पाङ्ग्रे सरकारी गाडीहरुलाई हेटौडा भीमफेदी कुलेखानी मार्खु चित्लाङ्ग हुदै काठमाण्डौ जाने रुट तोकिएको छ भने मिनिबस हाइस तरकारी बोकेका साना सवारी साधनहरुलाई बिहान ४:०० बजे देखि बेलुका ७:०० बजेसम्म भैसे पालुङ्ग चित्लाङ्ग हुदै काठमाण्डौ वा नौबिसे हुदै काठमाण्डौ जाने रुट तोकिएको छ। यसैगरी मिनी ट्रक लागायत अत्यावश्यक बस्तु ढुवानी गर्ने मालवाहक ट्रकहरुलाई राती १०:०० बजे देखि बिहान ४:०० बजे सम्म हेटौडा भैसे पालुङ्ग नौबिसे हुदै काठमाण्डौको रुट तय गरिएको छ ।