सु काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप सङ्कलन ६६ खर्ब नाघेको छ । दशैँका बेला रेमिट्यान्स अन्य समयमा भन्दा धेरै भित्रिएको कारण बैंकिङ प्रणालीमा निक्षेप बढ्दै गएको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार असोज १७ गतेसम्म प्रणालीमा निक्षेप सङ्कलन ६६ खर्ब सात अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरूमा मात्रै ५८ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ । विकास बैंक र फाइनान्स कम्पनीहरूसँग सात खर्ब २७ अर्ब रुपैयाँ निक्षेप छ ।
आसोज १७ गतेसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ५२ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये वाणिज्य बैंकहरूले ४६ खर्ब ५४ अर्ब रुपैयाँ छ । विकास बैंक र फाइनान्स कम्पनीहरूले छ खर्ब तीन अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
बैंकहरूले कुल निक्षेपको ९० प्रतिशतसम्म ऋण लगानी गर्न पाउँछन् । तर अहिले बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८ दशमलव २० प्रतिशत छ । यस आधारमा बैंकहरूसँग छ खर्ब ९० अर्ब रुपैयाँबराबर लगानी गर्न मिल्ने पैसा छ ।
दशैँअघि थप कर्जा विस्तार नहुने देखिएपछि बैंकहरूले स्थायी निक्षेप सुविधा (एसडीएफ) राखेका छन् । प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि अल्पकालीन उपकरणहरूमा लगानी बढाएका हुन् ।
बैंकहरूले आइतबार मात्रै एक खर्ब ६९ अर्ब रुपैयाँ एसडीएफ उपयोग गरेका थिए । सोमबार २१ दिन अवधिका लागि निक्षेप सङ्कलन उपकरणमा ४० अर्ब रुपैयाँ राखेका छन् ।
चाडपर्वको बेला कर्जाको माग नभएपछि बैंकहरूले अल्पकालीन उपकरणमा लगानी गरेर भए पनि आफ्नो नोक्सानी कम गर्न लागेका हुन् । अल्पकालीन उपकरणमा गरिएको लगानीबाट बैंकहरूले तीन प्रतिशत ब्याज पाउँछन् । चालू आर्थिक वर्ष सुरु भएयता असोज २१ गतेसम्म बैंकहरूले ६७ खर्ब ४६ अर्ब ७५ करोडको स्थायी निक्षेप सुविधा र सात खर्ब ४४ अर्ब १५ करोड रुपैयाँको निक्षेप सङ्कलन बोलकबोल सुविधा उपयोग गरेका छन् ।
संस्थागत निक्षेप घट्यो
बैंकिङ क्षेत्रको कुल निक्षेपमा संस्थागत निक्षेपको अनुपात घट्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक महिनामा बैंकमा रहेको संस्थागत निक्षेप २५ अर्ब ८९ करोड रुपैयाँ घटेको छ ।
गत साउनसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ६४ खर्ब ४६ अर्ब ८२ करोड ६० लाख रुपैयाँ छ । जसमा संस्थागत निक्षेपको अनुपात ३५ दशमलव नौ प्रतिशत छ ।
साउन मसान्तमा बैंकिङ क्षेत्रको कुल निक्षेप ५६ खर्ब ११ अर्ब ५९ करोड ६० लाख रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार उक्त निक्षेपमा संस्थागत निक्षेपको अनुपात ३५ दशमलव दुई प्रतिशत थियो ।
२०७९ साउन मसान्तमा बैंकिङ क्षेत्रको कुल निक्षेपमा संस्थागत निक्षेपको अनुपात ३७ दशमलव चार प्रतिशत थियो । पछिल्लो समय बजारमा कर्जाको माग न्यून हुँदा बैंकिङ क्षेत्रको ब्याज आम्दानी खुम्चिँदै गएको छ । यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरूले ठूला संस्थागत निक्षेपकर्ताहरूलाई दिने ब्याजमा पनि कमी आएको छ ।
सोही कारण नेपालमा ठूला संस्थागत निक्षेपकर्ताको रूपमा रहेका नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, शैनिक कल्याणकारी कोष, प्रहरी कल्याणकारी कोष, सशस्त्र प्रहरी कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष आदिले ब्याज आम्दानी गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरूमा राख्ने निक्षेपको अनुपात घट्दा बैंकिङ क्षेत्रमा संस्थागत निक्षेपको अनुपात घट्दै गएको हो ।