काठमाडौं, असार २१
एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको सेयर बाँडफाँट कार्य सम्पन्न भएको छ । संस्थाले सर्वसाधारणमा बिक्री गरेको साधारण सेयरको बिक्री कार्य सेयर निष्काशन तथा बिक्री प्रर्वन्धक प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट कार्य सम्पन्न गरेको हो । क्यापिटलका अनुसार लघुवित्तको साधारण सेयरमा आवेदन गर्ने सबै जना योग्य आवेदकले न्युनतम १० कित्ता सेयर पाएका छन् भने बाँकी भाग्यमानी ४६ हजार पाँच सय ७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन् ।
लघुवित्तको सेयर खरिदको लागि तीन लाख ९७ हजार सात सय ४१ वटा योग्य आवेदन परेको सानिमा क्यापिटलले जानकारी दिएको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १२ करोड २७ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा सात करोड ८४ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ४५ लाख रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब एक करोड ३८ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब २२ करोड ८७ लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २७ करोड ११ लाख ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ८१ लाख ४० हजार रुपैयाँ रहेको संस्थामा शून्य दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले ४५ करोड २५ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब १७ करोड ८४ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा संस्थाले २१ करोड ६९ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।