काठमाडौं, असार २१
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले साबिकको क्षेत्रीयस्तरको सहयोगी विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । बैंकले शनिबारबाट एकीकृत कारोबारको शुभारम्भ गरेको हो । बैंकका अनुसार एकीकृत कारोबारको शुभारम्भ सिटिजन्स बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले गरेका हुन् । यही असार १९ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्सले सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ९१ अर्ब ३५ करोड रुपैयाँ र सर्वसाधारणलाई दिएको ऋण लगानी ७९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।
प्राप्तिपश्चात् बैंकको कुल शाखा एक सय नौ पुगेको छ । हाल सिटिजन्सको चुक्ता पुँजी आठ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी नौ अर्ब आठ करोड रुपैयाँ रहेको छ । धनुषा, महोत्तरी मा हाल चार वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएको बैंकले अब उपरान्त कुल १७ वटा शाखाहरुबाट उच्चस्तरीय वित्तीय सेवाहरु थप परिष्कृत रुपमा प्रदान गर्नेछ जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
उक्त कार्यक्रममा बोल्दै सिटिजन्सका सञ्चालक समितिका अध्यक्ष भण्डारीले प्राप्तिपश्चात् बैंकको आन्तरिक वित्तीय, मानवस्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्त गरे । मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने विश्वास भण्डारीले जाहेर गरे । त्यसैगरी साबिकको सहयोगी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष उदय कान्त झा ‘जीवन’ले सहयोगीका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्समा अझ झन् सुरक्षित र उज्वल हुने कुरा अभिव्यक्त गरे ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्सका सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डेले प्राप्तिपश्चात् बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सुविधा प्रदान गर्न सहज हुने कुरा व्यक्त गरे । देशको बैंकिङ तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास अभिव्यक्त गरे ।
समारोहमा सिटिजन्सका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले मर्जरपश्चात् कर्मचारीहरुको उचित व्यवस्थापन र दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रमहरु अबलम्बन गर्ने बताए । बंैकको बढ्दो व्यवसाय, शाखा/सञ्जाल तथा अन्य स्रोतहरुबाट सृजित हुन सक्ने जोखिमहरु अध्ययन गरी पहिचान गर्ने तथा त्यस्ता जोखिमको उचित व्यवस्थापन गरी सम्भावित हानिलाई न्यून गर्नको लागि स्थापित जोखिम व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउँदै जाने योजना रहेको व्यहोरा जाहेर गरे ।
मुख्यत प्रदेश नं २ मा सेवा दिँदै आएको साबिकको सहयोगीको १३ वटा शाखाहरु गरी यस प्रदेशमा बैंकले कुल २१ वटा शाखाहरुबाट सेवा प्रदान गर्नेछ । बैंकले करिव साढे पाँच लाख ग्राहकवर्गलाई वित्तीय सेवा प्रदान गर्दै आएकोमा अबबाट करिब साढे छ लाख ग्राहकवर्गलाई सेवा प्रदान गर्नेछ । प्राप्तिपश्चात् सिटिजन्सको प्रदेश नं २ मा उपस्थिति झन् दरिलो हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।
वि.सं. २०६४ वैशाख ७ गतेदेखि २०आंै वाणिज्य बैंकको रुपमा बैंकिङ कारोबार सुरु गरेको सिटिजन्सले यसअघि अगावै नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजत प्राप्त संस्था पिपल्स फाइनान्स लिमिटेड, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स लिमिटेड र प्रिमियर फाइनान्स लिमिटेडलाई प्राप्ति गरिसकेको छ । बैंकले हाल देशैभरी फैलिएका आफ्ना एक सय नौ वटा शाखा, ९८ वटा एटीएम र एक सय चार वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव साढे छ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगीकार गर्दै बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत सञ्चालनमा ल्याएको छ ।