काठमाडौ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै गएपछि राष्ट्र बैंकले आज (कात्तिक १ गते बिहीबार) एक खर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत सो रकम १३ दिनका लागि प्रणालीबाट तान्न लागेको हो ।
अन्तरबैंक ब्याजदर तीन प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न एकै पटक एक खर्ब रुपैयाँ बजारबाट प्रशोचन गर्न लागेको हो । बजारमा कर्जाको माग अझै बढ्न सकेको छैन । चाडपर्वको समय भएकाले अझैे एक महिना जति कर्जाको माग बढ्ने संकेत पनि छैन । यस्तो बेला निक्षेप भने बढ्दै गएको छ । यही कारण प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ ।
अहिलेको व्यवस्थाअनुसार अन्तरबैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा बजारबाट पैसा तान्नु पर्छ । यस्तै साढे छ प्रतिशतभन्दा बढी ब्याजदर पुगेमा बजारमा पैसा पठाउनुपर्छ ।
बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरण खरिदका लागि कात्तिक १ गते दिउँसो तीन बजेसम्म अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन् । घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
पाँच अर्ब ३१ करोड मुद्दती निक्षेपमा लगानी गर्दै
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा पाँच अर्ब ३१ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम संस्थागत निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्न प्रस्ताव आह्वान गरेको हो ।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक २ गतेसम्म आफूले लिन चाहेको रकम र दिन चाहेको ब्याज तोकेर प्रस्ताव पेस गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले तीन सय ६६ दिन अर्थात् २०८१ कात्तिक १३ गतेदेखि २०८२ कात्तिक १२ गतेसम्म निक्षेप राख्न लागेको जनाएकोे छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा चार अर्ब २४ करोड ८० लाख रुपैयाँ, विकास बैंकहरुमा ७९ करोड ६५ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुमा २६ करोड ५५ लाख रुपैयाँ निक्षेप राख्न लागेको हो । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुुनुपर्नेछ । यीबाहेक तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्नेलगायतका प्रावधानहरु तोकिएका छन् ।