महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले निर्माणाधीन भवनस्थल जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवाटोल पुगेर मैथिली विकास कोषको निर्माणाधीन भवनको बिहीबार निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मुख्यमन्त्री सिँहसँगै कोषका अध्यक्ष जीवनाथ चौधरी, मधेस प्रदेशसभा सदस्य रामसरोज यादव, नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झा, प्रमोद चौधरीलगायत सहभागी थिए ।
निर्माणाधीन भवनमा सांस्कृतिक सङ्ग्रहालय, पुस्तकालय, मिथिला लोकचित्रकला प्रशिक्षण केन्द्र, कला प्रदर्शनी कक्ष, श्रव्यदृश्य कार्यसम्पादन कक्ष, सेमिनार हललगायत रहने जनाइएको छ । प्रदेश सरकारको सात करोड लगानीमा पाँच कट्ठा क्षेत्रफलमा सो भवन निर्माण हुन लागेको हो ।
कोषले गत तीन वर्षयता मासिक कथा एवं कवि गोष्ठी आयोजना गरिरहेको छ । दुई वर्षको अन्तरमा कोषले जनकपुर साहित्य महोत्सव तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्दै आएको छ । मैथिली भाषा एवं साहित्यसँग सम्बन्धित १० भन्दा बढी पुस्तक प्रकाशन गरिसकेको कोषले ५१–५१ हजार राशिको पुरस्कारसमेत स्थापना गरेको छ ।