काठमाडौं । डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानस्थित सडकमा महेन्द्रनगरबाट बैतडी पुर्चौडीतर्फ जाँदै गरेको ना.८ ख १०७८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर गए राति दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा बैतडी पुर्चौडी नगरपालिका–३ बस्ने ४५ वर्षीया जैमती बोहरा, २१ वर्षीय सहदेव बोहरा, उनकै श्रीमती २० वर्षीया कमला बोहरा र उनकै नाबालक छोराको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १२ जनामध्ये १० जनालाई थप उपचारको लागि धनगढी कैलालीतर्फ पठाइएको छ भने २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
सिन्धुलीको मरिण गाउँपालिका–७ ठाँटीस्थित सडकमा सिन्धुलीबाट छापतर्फ आउँदै गरेको बा.८६ प ६०३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक मरिण गाउँपालिका–७ बस्ने १८ वर्षीय संदिप स्याङतानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिका–२ सामाग्रीस्थित सडकमा बेनिबाट जोमसोमतर्फ आउँदै गरेको बा.७६ प ४२१० नम्बरको मोटरसाइकललाई ना.१ च ७६९२ नम्बरको कारले मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा घर भई काठमाडौं बस्ने ३३ वर्षीय संजय खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको भजनी नगरपालिका–७ चर्रास्थित सडकमा से.१ त १७८६ नम्बरको ट्याक्टर र से.६ प १०६१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कैलारी गाउँपालिका–५ बस्ने २३ वर्षीय आशिष कुमार चौधरीको मृत्यु भएको छ ।