काठमाडौं । माछापुच्छ्रे बैंकले एम कार्ड सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैकिङ क्षेत्रमा समय सापेक्ष नवीनतम प्रविधीमैत्री उपकरण सञ्चालनमा ल्याउन सदैव उत्साहित तथा क्रियाशील रहेको बताउने बैंकले हाल आफ्ना ग्राहकहरूलाई नौलो अनुभव दिन एम कार्डको सुविधा सञ्चालनमा ल्याएको जनाएको छ । यस एम कार्ड सेवामार्फत बैंकका ग्राहकहरूले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरूको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरू जस्तैः विभिन्न मनपर्ने स्थानहरू, प्राकृतिक÷धार्मिक÷ऐतिहासिक सम्पदाहरू, कला तथा संस्कृति झल्किने चित्रहरू आदि आकृतिहरू अकिंत गरी सम्बन्धित ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड गर्न सक्नेछन् । साथै, कार्डमार्फत कार्डधारकले पर्सनलाइज्ड कार्डमा अंकित तस्वीरप्रतिको प्रेमभाव, सम्मान तथा आस्था दर्शाउन उत्तम माध्यमको रूपमा आत्मसात गर्न सक्नेछन् । एम कार्ड सेवाले कार्डप्रयोगकर्तालाई पृथक अनुभूति जगाउने र नौलोपनको आभाष दिलाउने बैंकको विश्वास छ ।
बैंकले हाल यो एम कार्डलाई भिसा डेबिड कार्डको रूपमा प्रस्तुत गरेको भए पनि भविष्यमा क्रेडिट कार्ड समेतमा लागू गर्ने बैंकको योजना रहेको छ । बैंकको २४औँ वार्षिकोत्सवको अवसरमा हालै यो एम कार्ड जारी गर्दा ग्राहकलाई जारी शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।
‘हाम्रा ग्राहकहरूलाई नवीन तथा व्यक्ति अनुकूलित बैंकिङ समाधानहरू प्रदान गर्न प्रतिबद्ध छौँ’, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने ‘एम कार्ड सेवाको शुभारम्भले भिसा कार्डको सुविधा तथा सुरक्षा अनुभव यथावत राख्दै हाम्रा ग्राहकहरूलाई आफ्नो व्यक्तित्व तथा व्यक्तिगत रूचि अभिरूचिहरू पर्सनलाइज्ड कार्डमार्फत प्रकट गर्ने अवसर प्रदान गर्नेछ ।’ माछापुच्छ्रे बैंक ग्राहक केन्द्रित डिजिटल सेवा विस्तार गर्न निरन्तर अग्रसर छ र ग्राहकहरूको बैंकिङ अनुभवलाई थप उत्कृष्ट बनाउन बैकले एम कार्ड सेवामार्फत अर्को एक कदम अघि सारेको छ ।