काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत सेयर लगानी रहेको सहायक कम्पनी श्री शिवम् होल्डिङ्स लिमिटेड, काठमाडौंको आज सम्पन्न आव २०८०/८१ को वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा बसेको वार्षिक साधारणसभाले कम्पनीमा हाल कायम सेयर धनीहरूलाई ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै, आव २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन विवरण पारित गर्दै कम्पनीको आव २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेसम्बन्धी कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेका सबै प्रस्तावहरूमाथि छलफल गरी साधारणसभाबाट सर्वसम्मतरूपमा पारित भएको छ ।
शिवम् होल्डिङ्स लिमिटेड कम्पनीले नेपालकै सबैभन्दा ठूलो उत्पादन क्षमता भएको चिनियाँ विदेशी लगानी समेतबाट स्थापना भई पूर्ण क्षमतामा सञ्चालनमा रहेको होङ्सी शिवम् सिमेन्ट प्रालिको उद्योगमा ३० प्रतिशत सेयर लगानी गरेको छ । उक्त उद्योगका अलावा अन्य पूर्वाधार निर्माण र जलविद्युत् परियोजनाहरूमा समेत लगानी गर्नका लागि प्रारम्भिक सम्झौता गरी लगानी विस्तार र लगानी विविधीकरणका योजनाहरू अगाडि बढाइएको छ ।
त्यसैगरी यस शिवम् होल्डिङ्ग्स लिमिटेड कम्पनीले जारी पुँजीको २० प्रतिशत बराबर हुन आउने सेयरहरू सर्वसाधारणहरूलाई नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन दर्ता गरिसकेको छ ।