काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापका लागि सुरु गरेको चियापान कार्यक्रमलाई उनका जेठा छोरा प्रकाश कोइरालाले निरन्तरता दिएका छन् ।
२०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएका बिपी करिब १० वर्ष लामो भारत निर्वासन छाडेर स्वदेश फर्किएका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै तत्कालीन सुन्दरीजल बन्दीगृह लगिएको थियो । त्यसै वर्ष उपचारका लागि जेलबाट छुटेदेखि बिपीले बडादसैँको कोजाग्रत पूर्णिमाका दिन चियापान सुरु गरेका थिए ।
बिपीको देहान्तपछि चियापानको यो परम्परालाई कांग्रेसका नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले निरन्तरता दिँदै आएका थिए ।
कांग्रेस बिपीले देखाएको बाटोमा हिँड्नुपर्नेमा जोड दिदै नेता कोइरालाले आगामी वर्षमा पनि कोजाग्रत पूर्णिमाका अवसरमा बिपीले सुरु गरेको चियापानको परम्परालाई निरतन्तरता दिने बताए ।
सो कार्यक्रममा बिपीकी छोरी चेतना कोइराला, बिपीकी नातिनी मनिषा कोइराला, सुशील कोइराला मेमोरियल फाउण्डेसनका सदस्यसचिव अतुल कोइरालालगायत सहभागी भएका थिए ।
सो अवसरमा सङ्ग्रहालय परिसरमा रहेको बिपीको पूर्णकदको सालिकमा बिपी पुत्र कोइरालालगायतले माल्यार्पण गरेका थिए । कार्यक्रममा उपस्थित इच्छुक महानुभावलाई कोइरालाले टीका तथा जमरासहित आशीर्वाद पनि दिएका थिए ।