धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ सिम्लेमा ८६ वर्षीया वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेले बुधवार राति ८६ वर्षीया सुन्तलीमाया घलेको हत्या भएको जानकारी दिएका छन् ।
पाण्डेले आफ्नै नेतृत्वमा हत्या भएको खबर लगत्तै प्रहरी परिचालन गरी हत्यामा संलग्नलाई खोजेका थिए ।गोर्खा आरुघाट गाउँपालिका निवासी २९ वर्षीय विजय श्रेष्ठलाई नीलकण्ठ नगरपालिका वडा नम्बर–८ को मैदी भन्ज्याङबाट भाग्दै गरेको अवस्थामा बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
विजयले बताएको प्रारम्भिक बयान अनुसार गोर्खाबाट धादिङको सिद्धलेक गाउँपालिकास्थित सिम्लेमा आफन्तको घरमा गएको बेला छिमेकी सुन्तलीमायालाई राति आफन्त लालबहादुर घलेको बारीमा लगी हत्या गरेर छाडिदिएको प्रहरीले जानकारी दिएको छ । हत्याको कारण भने अझै खुल्न सकेको छैन । युवकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ ।