काठमाडौं, असार २२
कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यूएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना नेपालीको निधन भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ देशमा संख्या १ सय ४३ जना नेपालीको कोरोना संक्रमणले ज्यान गएको हो ।
हालसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, ओमानलगायत देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार यो साता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्युन हुदै गइरहेको छ । समितिका अनुसार शनिबार साँझसम्म विदेशमा २८ हजार नौ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ हजार दुई सय २६ जना गैरआवासीय नेपाली कोरोनामुक्त भएका छन् । एनआरएनएका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् ।
१८ हजार दुई सय ९३ जनाको उद्धार : यसैबीच कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीहरुको उद्धारको काम तीव्रता दिइएको छ । एनआरएनए र विदेशस्थित नेपाली कूटनीति नियोगको संयुक्त पहलबाट जुनको पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार दुई सय ९३ जनाको उद्धार गरेको जनाएको छ ।
अफगानिस्तान, अष्ट्रिेलया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, बंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, यूएई, साृदी अरब, सिंगापुर, हङकङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायतका देशमा रहेका नेपालीहरु नेपाल फर्किका छन् । यसैबीच विदेशमा निधन भएका नेपालीको तीन सय ५२ शव मध्य एक सय १५ जनाको शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ भने बाँकी एक सय पाँच शवको व्यवस्थापनको काम बाँकी रहेको छ । ती शवमध्ये एक सय ३२ जना नेपालीहरुको शव परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको छ ।