काठमाडौं । नेपाल उद्योग परिसंघका पूर्व उपाध्यक्ष बसन्तराज मिश्रको निधनले भएको छ । मिश्रको ७० वर्षको उमेरमा आइतबार बिहान निधन भएको परिवारले जनाएको छ ।
मिश्र चार दशक बढी समयदेखि नेपालको पर्यटन उद्योगमा सक्रिय थिए । मिश्रको निधनले नेपालको पर्यटन उद्योगले एक कर्मठ, निष्ठावान तथा अभिभावक गुमाएको परिसंघले जनाएको छ । ‘नेपालको पर्यटन उद्योगका विषयमा सधैँ चिन्ता र चासो राख्ने मिश्रले विदेशी पर्यटक नेपाल भित्र्याउन खेल्नुभएको भूमिका महत्वपूर्ण छ’, परिसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टेम्पल टाइगर ग्रुप एन्ड कम्पनीका संस्थापक मिश्र सन् २०१३ देखि सन् २०१६ सम्म परिसंघको उपाध्यक्ष हुनुभएको थियो । स्वर्गीय मिश्रप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा परिसंघ गहिरो समवेदना अर्पण गर्दछ ।’