काठमाडौं, असार २२
नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको परिमार्जित नोट प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकका अनुुसार आज सोमबारबाट ५० रुपैयाँको नोटलाई परिमार्जन गरी प्रचलनमा ल्याउन लागिएको हो । साबिककै आकारप्रकार, तथा रंगमा संकेत नम्बर ज८९ ०००००१ देखि ट३३ ९९९९९९ सम्म नेपाल सरकारको जमानतप्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० तुरुन्तै पाइनेछ भन्ने वाक्यांशसहित आज सोमबारदेखि उक्त नोट प्रचलनमा ल्याउन लागिएको हो ।
राष्ट्र बैंकका अनुसार नोटको बायाँ भागमा गरमाथाको चित्र रहेको नोटको दायाँतर्फ लालिगुराँसको पानी छाप रहेको छ । त्यस्तै नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको दस्तखत रहेको, नोटको तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा वि.सं. २०७५ लेखिएको छ ।
नोटको पृष्ठ भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ भने नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा ‘रुपिज फिप्टी’ लेखिएको छ । त्यस्तै नोटको तल्लो भागको बोर्डरमा सिरिज नम्बर लेखिएको छ ।
१० करोड रुपैयाँको ट्रेजरी बिक्री आज : नेपाल राष्ट्र बैंकले आज सोमबार १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज सोमबार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति असार २३ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरी ९१ दिने अवधिको रहेको छ । राष्ट्र बैंकका अनुसार उक्त ट्रेजरीको परिपक्व हुुने मिति भने २०७६ असोज २० गते तोकिएको छ । यसअघि यही असार १५ गते पनि राष्ट्र बैंकले १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।