नयाँदिल्ली । भारतीय गाडीको माग विश्वभर बढ्दै गएको छ । सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम)को पछिल्लो रिपोर्टअनुसार भारतको अटोमोबाइल निर्यात गत वर्षको तुलनामा १४ प्रतिशतले बढेको छ ।
अप्रिलदेखि सेप्टेम्बरसम्म भारतीय कम्पनीहरूले विदेशी बजारमा २५ लाख २८ हजार दुई सय ४८ सवारीसाधन बिक्री गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या २२ लाख ११ हजार चार सय ५७ थियो ।
भारतको सबैभन्दा ठूलो कार उत्पादक मारुती सुजुकी अप्रिलदेखि सेप्टेम्बरसम्म एक लाख ४७ हजार ६३ वटा गाडी निर्यात गरेर शीर्ष स्थानमा छ । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या एक लाख ३१ हजार पाँच सय ४६ थियो । वार्षिक आधारमा १२ प्रतिशतले वृद्धि भएको छ ।
चालू आर्थिक वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्ममा दुईपाङ्ग्र्रे सवारीसाधनको निकासी गत वर्षको सोही अवधिमा १६ लाख ८५ हजार नौ सय सात रहेकोमा वार्षिक सोही अवधिमा १६
प्रतिशतले बढेर १९ दाख ५९ हजार एक सय ४५ पुगेको छ । सन् २०२४ को सम्पूर्ण आर्थिक वर्षमा भारतीय बजारबाट ३४ दशमलव ५९ लाख दुईपाङ्ग्र्रे सवारीसाधन निर्यात भएको थियो ।
हुन्डाई मोटर इन्डियाको कुल निर्यात भने गत वर्षको तुलनामा अप्रिल–सेप्टेम्बर अवधिमा एक प्रतिशतले घटेर ८४ हजार नौ सय युनिटमा पुगेको छ । सन् २०२३ को अप्रिल–सेप्टेम्बरमा कम्पनीले ८६ हजार एक सय पाँच सवारीसाधन निर्यात गरेको थियो ।