काठमाडौँ । प्राइम पावर लिमिटेडले प्रवर्द्धन गर्ने सौर्य विद्युत् परियोजनामा ग्लोबल आइएमई बैंकले कर्जा लगानी गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले कर्जा लगानीसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा सोमबार हस्ताक्षर गरेका छन् ।
प्राइम पावर लिमिटेडले समझदारी अनुसार ३० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना कपिलवस्तु जिल्लामा निर्माण गरी सञ्चालन गर्नेछ । यस परियोजनाद्वारा उत्पादित विद्युत् खरिदका साथै चनौटास्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा विद्युत् जोड्नका निमित्त नेपाल विद्युत् प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको प्राइम पावर लिमिटेडका अध्यक्ष गर्गले जानकारी दिए ।
नेपालमा सञ्चालित सौर्य परियोजनामध्ये उक्त परियोजना सौर्य ऊर्जाअन्तर्गत विद्युत् क्षेत्रको सबैभन्दा ठूलो क्षमताको परियोजना हो । यस परियोजनामा संलग्न लगानीकर्ता समुहद्वारा विभिन्न पाँच सौर्य परियोजनाअन्तर्गत ५६ मेगावाट कूल जडित क्षमताको आयोजनामा समेत लगानी छ । बैंकले नविकरणीय र हरित उर्जा उत्पादन, प्रशारण तथा वितरणमा आफ्नो लगानी प्रवर्द्धन गर्ने उद्देश्य अनुरुप सौर्य तथा जलविद्युत्मा सुलभ ब्याजदरमा कर्जा लगानी गर्दै आएको छ ।