काठमाडौं । नेपालकै बृहत् र स्तरीय मानिएको प्रतियोगिता मोडल हन्ट नेपालको ९औँ संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै मोडल हन्ट नेपालको नयाँ संस्करण अर्थात् ‘मोडल हन्ट नेपाल २०२४’को आवेदन खुला भएको जनाएको हो ।
प्रतियोगितामा सहभागीका लागि पुरुषको हकमा पाँच फिट छ इन्च र महिलाको हकमा कम्तीमा पाँच फिट दुई इन्च उचाइ हुनुपर्ने प्रावधान छ । आवेदन फर्म खल्ती एपबाट भर्न सकिनेछ । सहभागी प्रतियोगीको हकमा उमेर १६ देखि २८ वर्ष हुनुपर्ने प्रावधान रहेको छ । प्रतियोगिताको प्रारम्भिक चरणको अडिसन नेभेम्बर २२ (मंसिर ७)गतेबाट सुरु हुनेछ । अडिसनमा छानिएका प्रतियोगीलाई सविता कार्कीले कोरियोग्राफी गर्नेछिन् । एक महिनाको प्रशिक्षणको क्रममा उनीहरूले व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसनलगायतका ग्रुमिङ कक्षा पनि लिनेछन् ।
प्रतियोगितामा विजेता पाँच लाख बराबरको पुरस्कारको अलवा अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता रनवे मोडल युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् । उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत आठ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । प्रतियोगिताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटफार्मको सिर्जना गर्ने धमलाको भनाइ छ ।