काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले बुधबार आम्रपाली बैंकेट काठमाडौंमा विशेष सभा सम्पन्न गरेको हो । सभामा कम्पनीका अध्यक्ष विमलप्रसाद वाग्लेले विशेष साधारणसभा बोलाउनु पर्नाको कारणको पृष्ठभूमि सम्बन्धमा सभामा जानकारी गराएका थिए । कम्पनीको २०८० साउन १५ गते बसेको विशेष साधारणसभाबाट कायम रहेको चुक्ता पुँजी एक अर्ब ४५ करोड ९२ लाख ७५ हजार सात सय ९० रुपैयाँको १० सेयर बराबर छ दशमलव छ सेयर (६६ प्रतिशत) ले हुन आउने ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार दुई सय २० दशमलव २२ कित्ता हकप्रद सेयर जारी गर्न विशेष प्रस्ताव पारित गरेको थियो ।
सोअनुसार कम्पनीको २०८० फागुन तीन गते सम्पन्न १८औँ वार्षिक साधारणसभाबाट कायम रहेको चुक्ता पुँजी एक अर्ब ४५ करोड ९२ लाख ७५ हजार सात सय ९० रुपैयाँको पाँच दशमलव ५० प्रतिशत बोनस सेयर पारित भई चुक्ता पुँजी एक अर्ब ५३ करोड ९५ लाख ३५ हजार नौ सय ५८ रुपैयाँ कायम भइसकेको र सोहीबमोजिम बोनस सेयर जारी तथा सूचीकरण भई कारोबार समेत भइरहेकोमा सञ्चालक समितिको २०८१ भदौ २४ गते बसेको चार सय ४९औँ बैठकबाट उक्त बोनस सेयरपश्चात कायम हुने चुक्ता पुँजी एक अर्ब ५३ करोड ९५ लाख ३५ हजार नौ सय ५८ रुपैयाँको ६२ दशमलव ५६ प्रतिशत अर्थात् ९६ करोड ३१ लाख २२, हजार २२ रुपैयाँ हकप्रद सेयर जारी गर्ने निर्णय भएबमोजिम कम्पनीले जारी गर्ने हकप्रद सेयर संख्यामा फरक नपर्ने भए पनि हकप्रद सेयर जारी गर्ने अनुपातमा फरक पर्न जाने देखिएकाले सो फरक अनुपात संशोधन गर्न विशेष साधारण सभा आयोजना गरेको हो ।
सभाले चुक्ता पुँजी एक अर्ब ५३ करोड ९५ लाख ३५ हजार नौ सय ५८ रुपैयाँ को १० सेयर बराबर छ दशमलव २५ सेयर (६२ दशमलव ५६ प्रतिशत) को अनुपातले हकप्रद सेयर जारी गर्नेसम्बन्धी सञ्चालक समितिको उक्त निर्णयलाई अनुमोदन गर्ने विशेष प्रस्ताव सभाबाट सर्वसम्मतिबाट पारित गरेको कम्पनीको भनाइ छ ।