ढाका । बंगलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् । यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नै नेतृत्वको समूह ’एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको र्यालीमा राष्ट्रपतिको राजीनामासहित पाँच बुँदे मागको घोषणा गरेको थियो ।
राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै बङ्ग भवनतर्फ अघि बढेका प्रदर्शनकारीहरुलाई सेनाले ब्यारिकेड लगाएर रोकेको थियो । प्रदर्शनकारीहरूले बङ्गभवनबाहिर उभिएर बङ्गलादेशका राष्ट्रपतिको राजीनामा मागको नारा लगाउन थालेका छन् ।
‘राष्ट्रपति हसिनाको अधिनायकवादी सरकारका सहयोगी हुन् । उनले तुरुन्तै राजीनामा दिनुपर्छ’, एक जना प्रदर्शनकारीले भने । मोहम्मद साहाबुद्दिन बंगलादेशका १६औँ राष्ट्रपति हुन् । उनी सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित भएका थिए ।