काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले एक सय दिनका लागि निर्धारित १० कामका क्षेत्रमा किटान गरिएको लक्ष्यमध्ये आठवटा लक्ष पूरा गरिएको बताएका छन् । मन्त्री दाहालका अनुसार एउटा लक्ष्य करिब पूरा भएको अवस्था छ भने बाँकी एउटा लक्ष्यको भने आधा मात्र प्रगति हासिल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको कात्तिक ६ गते एक सय दिन पूरा भएको अवसरमा मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो । वर्तमान सरकार गठनपछि एक सय दिन, दुई सय दिन र एक वर्षको लक्ष्य किटान गरी तयार गरिएको कार्ययोजनाअनुसार सरकारले काम गरिरहेको छ ।
प्रधानमन्त्रीले सबै मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्ने कार्यक्रमअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबीच १० वटा मुख्य कार्यक्रम र तिनको लक्ष्यसहित कार्यसम्पादन सम्झौता गरिएको थियो ।