काभ्रेपलाञ्चोक । गएराति जुवातास खेलिरहेका २१ जना पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाले जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट ९३ हजार तीन सय १५ बरामद गरिएको जनाएको छ ।
प्रहरी निरीक्षक रमेश थापाले पक्राउ परेकालाई इप्रका बनेपामा राखी आइतबार म्याद थपको तयारी भइरहेको जानकारी दिए । उनका अनुसार ख्याकूका रमेश थापाको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा राति प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसअघि बुधबार साँझ मात्रै प्रहरीले पनौती–९ कुँवर गाउँबाट पाँच जनालाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिई ९५ हजार नगद बरामद गरेको थियो । उक्त समूहलाई मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।