काठमाडौं । विश्वकै प्रतिष्ठित बैंकिङ प्रतियोगिता ‘बेक अफः द प्रोफेसनल्सः २०२४’ विजेता सेफ नारायण श्रेष्ठ र बीबीसी मास्टर सेफ विजेता सेफ सन्तोष शाहले विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित नेपाली एवं विदेशी पाहुनालाई आफ्नो स्वाद पस्किएका छन् ।
नेपाली खाना प्रवर्द्धन लागि मिथिला थाली गैह्रीधारामा आयोजित भिक्ट्री प्लेट नाम दिइएको कार्यक्रममा नेपालका दुई उत्कृष्ट पाक कलाकारले नेपालको रैथाने स्वादसहित खाना र डिजर्ट बनाएका थिए । कार्यक्रममा उपस्थित करिब ५० जना विशिष्ट पाहुनालाई मिथिला लस्सीले स्वागत गरिएको थियो । कार्यक्रममा पुगेका नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले जुम्ली स्याउको चटनीसँग पोलेको तरुल खान पाउँदा कर्णाली सम्झेर आफू नोस्टाल्जिक भएको बताए । त्यस्तै, इस्कुस, आलु र याक चिजले भरिएको समोसा खाएपछि इन्फ्लुयन्सर मानसी अग्रवालले भनिन्, ‘इस्कुस पनि यति मीठो हुँदो रहेछ भनेर पहिलोचोटि थाहा भयो ।’ व्यवसायी राजेन्द्र खेतानले ओएलको अचारसँग सौंफ मिश्रित रोटीको स्वादले पेट भरिए पनि मन नभरिएको प्रतिक्रिया दिए ।
बेलायती राजदुतकि श्रीमती जुलिया फेनले नेपाली परिकारको मौलिक स्वाद र प्रस्तुतिले आफूलाई लोभ्याएको बताउँदै सांस्कृतिक सम्पदाको उत्कृष्ट प्रतिनिधित्व गरेकोमा दुवै जना सेफको प्रशंसा गरिन् । प्यासिफिक एसिया ट्राभल एसोसियसनका प्रमुख कार्यकारी अधिकृत सुरेश बुढाले यस प्रकारका कार्यक्रमहरूले नेपाली परिकारलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्दै फुड टुरिजमको माध्यमबाट नेपाललाई विश्वभर चिनाउन मद्दत पु¥याउने बताए । भेटमा सेफ सन्तोषले मेन मेन्यु पस्किँदा सेफ नारायणले डिजर्ट चखाएका थिए । सुन्तलाको कुराउनी, खुर्सानी, टिमुर, गुँदपाकजस्ता नेपाली स्वादलाई सेफ नारायणले आफ्नो पाककलामार्फत उत्कृष्ट बेकरी रेसिपी तयार गरेकोमा आफूलाई अत्यन्त खुसी लागेको हिमालयन जाभाका संस्थापक गगन प्रधानले बताए ।
माक्कुसेको संस्थापक एवं पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले भने गुँदपाकको प्रयोग गरेर यति मीठो केकको बन्छ भन्नेमा आफू अचम्मित भएको बताइन् । मिथिला थालीमा उपस्थित अधिकांशको रोजाइमा परेको अनदीको चामल अनि लालीगुराँसको रक्सी लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अनिल केशरी शाहले रैथाने पेय पदार्थलाई नीतिगत सम्बोधन गरेर ब्रान्डिङ गर्न राज्य अग्रसर हुनपर्नेमा जोड दिए । सयपत्रीको तेल र फूलसँगै साँधेको भोगटे, नेपाली रैथाने स्वाद मिसिएका बेकरी परिकारले आफूलाई लोभ्याएको सेफ गोविन्द नरसिंह केसीले बताए ।