काठमाडौं, असार २३
नेपालमा झण्डै १६ हजारमा कोरोना भाइरस कोभिड–१९ लागेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमितको संख्या १५ हजार नौ सय ६४ पुगिसकेको छ । तीमध्ये छ हजार ८ सय ११ जना निको भई घर फर्किसकेका छन् भने ३५ जनाको सङ्क्रमणकै कारणले मृत्यु भएको छ । काठमाडौं उपत्यकामा पनि पछिल्लो समयमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । यसले उपत्यका कोरोनाको उच्च जोखिममा रहेको देखिएको छ ।
कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण उपत्यकामा बढेको पाइएको छ । उपत्यकामा मानिसहरू भित्रेसँगै सङ्क्रमित बढेको पाइएको हो । अहिले दैनिक उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । आइतबार ३० जना सङ्क्रमित देखिएका थिए भने सोमबार ५४ जनामा देखिएको छ । सोमबार देखिएका १ सय ८० जना सङ्क्रमितमध्ये ५४ जना उपत्यकाका रहेका छन् । काठमाडौँमा २४, ललितपुर २० र भक्तपुरमा १० जनामा सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा सङ्क्रमित बढेसँगै परीक्षणको दायरा बढाइएको बताए । उनले संङ्क्रमित बढेसँगै उपत्यकाका समुदायमा सङ्क्रमण देखिएको हो वा होइन भन्नका लागि १० ठाउँबाट स्वाब सङ्कलन गरी परीक्षण गरिएको बताए ।
गौतमका अनुसार तिनकुने र ललितपुरको नख्खुका २ सय २८ जनामा स्बाव सङ्कलन गरी पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको छैन । यस्तै सात ठाउँमा गरिएको परीक्षणका नतिजा आउन बाँकी रहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा प्रमुख डा वासुदेव पाण्डेले मानिसहरू उपत्यका प्रवेश गरेसँगै सङ्क्रमणको जोखिम बढेको बताए । उनले भेटिएका सङ्क्रमित एकै ठाउँका नरहेकाले विभिन्न ठाउँबाट प्रवेश गरी उपत्यका आएकामा देखिएको बताए ।
यसैबीच, नेपालमा कोभिड–१९ का जम्मा सङ्क्रमितमध्ये ४२ दशमलव सात प्रतिशत सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेशानुसार प्रदेश नं १ मा ४ सय ६९ जना, प्रदेश नं २ मा दुई हजार ७२, वाग्मती प्रदेशमा ६ सय ३९ र गण्डकी प्रदेशमा २ सय ९५ सङ्क्रमित सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । यो सङ्ख्या प्रदेश नं ५ मा तीन हजार ९ सय ८४, कर्णाली प्रदेशमा एक हजार २ सय २२ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६ सय ९१ रहेको छ ।