काठमाडौं,भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ माहिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा निर्धारित समयमा १९१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
मध्यान्तरपछिको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको थियो । खेलको ५१औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छोडेकि थिइन ।
दोस्रो हाफको पाँच मिनेटपछि १० जना खेलाडीमा सीमित भएको नेपाली टोलीले विवादका कारण ७३ मिनेटपछि रोकिएको खेल सुरु भएको एक मिनेटमै भारतलाई गोल फर्काएको थियो। प्रिती राईको पासमा साबित्रा भण्डारीले नेपालका लागि सुन्दर गोल गरेर खेललाई बराबरीमा ल्याइपुर्याएकी थिइन्। त्यसअघि भारतले ७२ मिनेटमा पहिलो गोल गरेर अग्रता लिएको थियो। पेनाल्टीमा गएको खेलमा भारतको पहिलो प्रहार पोस्टमा लागेर फर्केको थियो भने गोलकिपर अञ्जना राना मगरले चानु सोरो खैबाङको प्रहार रोकेकी थिइन्।
पेनाल्टीमा भारतकी असलता देवीको प्रहार पनि असफल भएपछि नेपालले दुई गोलको अग्रता लियो। नेपाल बाट सावित्रा भण्डारी, गीता राना, सविता राना मगरले पेनाल्टीमा गोल गरे। नेपालले दुई गोलको अग्रता लिइसकेका कारण भारतले पाँचौँ पेनाल्टी प्रहार गर्नु परेन।
नेपालको जितमा उत्कृष्ट योगदान गरेकी साम्बा प्लेअर अफ द म्याच भइन्। फाइनलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ।