नयाँदिल्ली । भारतले यस महिना भारतीय एयरलाइन्समा बम राखिएको सयौँ चेतावनीले हवाई यात्रालाई प्रभावित बनाएको बताउँदै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई ‘परिणामी कारबाही’ गर्ने चेतावनी दिएको छ ।
बमको चेतावनीपछि भारतीय विमानहरू गन्तव्यबाट क्यानाडा र जर्मनीतर्फ जान बाध्य भएका थिए भने ती विमानलाई लडाकु विमानले बेलायत र सिंगापुरमाथिको आकाशमा पहरा दिएका थिए ।
भारत सरकारले चेतावनीको संख्यामा देखिएको वृद्धि ‘अनियन्त्रित र जोखिमपूर्ण’ रहेको बताएको छ । यदि उनीहरूले ‘गलत सूचना पठाउने कार्यलाई तुरुन्तै रोकेनन्’ भने प्रशासनले सामाजिक सञ्जाललाई ‘कानुनमा व्यवस्था भएअनुसार कारबाही’ गर्ने चेतावनी दिएको छ ।
‘एयरलाइन्समा बम पड्काउने चेतावनीजस्ता दुर्भावनापूर्ण कार्यका घटनाहरूले सार्वजनिक व्यवस्था र राज्यको सुरक्षामा खतरा निम्त्याउन सक्छ’, प्रशासनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
’यस्ता भ्रामक चेतावनीको संख्याको वृद्धिले नागरिकको उडान र सुरक्षासम्बन्धी मनोबललाई असर गर्नुका साथै देशको आर्थिक सुरक्षालाई पनि अस्थिर बनाउँछ,‘ विज्ञप्तिमा भनिएको छ ।
प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) समाचार संस्थाका अनुसार अक्टोबरको मध्यदेखि अहिलेसम्म कम्तीमा दुई सय ७५ वटा विमानमा बम विस्फोटको धम्की दिइएको छ । अन्य भारतीय सञ्चारमाध्यमका अनुसार यो संख्या चार सयको हाराहारीमा हुन सक्छ ।
‘कुनै पनि तेस्रो पक्ष जानकारीको लागि दायित्वको छुट पाएका त्यस्ता मध्यस्थहरूले दायित्वहरू पालना गरेनन् भने उनीहरूसँगको सम्झौता लागू हुने छैन‘, विज्ञप्तिमा भनिएको छ । रासस/एएफपी