काठमाडौं । तिहार फ्लोरा एक्स्पोमा ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा ‘तिहारको महोत्सव फूलको उत्सव’ भन्ने नारासहित शुक्रबारबाट भृकुटीमण्डपमा एक्स्पो सञ्चालन गरिएको थियो । एक्स्पो मंगलबार सकिएको छ ।
पाँच दिन चलेको सो एक्स्पोमा ४० हजार बढीले अवलोकन गरेका थिए । फूल तथा नर्सरी र नर्सरीजन्य उत्पादनको परनिर्भरतालाई कम गरी स्वदेशी उत्पादनलार्ई वृद्धि गर्ने उद्देश्यले मेला आयोजना गरिएको संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए । व्यवसायी र उपभोक्ताको दूरी घटाउने र नर्सरी व्यवसायीहरूले उत्पादन गरेका कृषि तथा वन जडीबुटी नर्सरी फलफूल औजार उपकरण सबै एकै थलोमा भएकाले अवलोकनकर्ताहरूको उत्साहजनक सहभागिता रहेको उनको भनाइ थियो । तिहार फ्लोरा एक्स्पोमा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल बिरुवालगायत कृषि तथा वन जडीबुटी, औजार उपकरण, मल सबैगरी ६५ वटा व्यावसायिक स्टल राखिएको थियो ।
मेलाको समापन पूर्वसभामुख अग्नी सापकोटाले गरेका थिए । कार्यक्रममा उनले नेपाललाई ग्रिन डेभलपमेन्टतर्फ लैजानुपर्ने बताए । यस्तै, उनले नर्सरी व्यवसायलाई प्रोत्साहन गर्न सके युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न सकिने उल्लेख गरे । नर्सरी व्यवसायीहरूको मागअनुसार नेपालमा रहेको बाँझो जग्गा नर्सरी व्यवसायका लागि लिजमा दिने प्रक्रिया मिलाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता समेत जनाए । साथै, उनले प्रदर्शनमा राखिएका सबै स्टल अवलोकन समेत गरेका थिए ।