काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको शाखासंख्या ११ हजार नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ५२ वटा लघुवित्त र एउटा पूर्वाधार विकास बैंकका कुल शाखासंख्या ११ हजार पाँच सय ३३ पुगेको छ ।
बैंकिङ क्षेत्रको कुल शाखासंख्यामध्ये चालू आर्थिक वर्षको भदौ मसान्तसम्म वाणिज्य बैंकहरूको कुल शाखासंख्या पाँच हजार ६४ पुगेको छ । यस्तै विकास बैंकहरूको कुल शाखा एक हजार एक सय ३६ पुगेको छ । फाइनान्स कम्पनीहरूको दुई सय ८८ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार ४५ वटा शाखा कार्यालय छन् ।
राष्ट्र बैंकका अनुुसार २०८१ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल शाखासंंख्या ११ हजार पाँच सय ३० वटा थियो । जसमध्ये वाणिज्य बैंैकहरूको पाँच हजार ५६, विकास बैंकहरूको एक हजार एक सय ३५, फाइनान्स कम्पनीहरूको दुई सय ८८ र लघुवित्त वित्तीय संंस्थाहरूको पाँच हजार ५१ वटा शाखाहरू सञ्चालनमा थिए ।
२०८० असार मसान्तम वाणिज्य बैंकहरूको शाखा कार्यालय पाँच हजार ४९, विकास बैंकहरूको एक हजार एक सय २८, फाइनान्स कम्पनीहरूको दुई सय ८४ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार एक सय २८ समेत गरी कुल ११ हजार पाँच सय ८९ वटा शाखाहरू थिए ।
दुई महिनामा झण्डै ६७ खर्ब तरलता प्रशोचन
बैंकिङ प्रणालीमा अधिक तरलता भएसँगै नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो दुई महिनाको अवधिसम्म झण्डै ६७ खर्ब रुपैयाँबराबरको तरलता प्रशोचन (बैंकिङ प्रणालीबाट अधिक तरलता खिच्ने कार्य) गरेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत चार खर्ब २४ अर्ब ७५ करोड र स्थायी निक्षेप सुविधामार्फत ६२ खर्ब ७० अर्ब ४० करोड गरी कुल ६६ खर्ब ९५ अर्ब १५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधालगायतका उपकरणहरूमार्फत खुद तीन खर्ब ६२ अर्ब ३६ करोड तरलता प्रवाह गरिएको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको भदौ मसान्तसम्ममा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू)बाट अमेरिकी डलर ८३ करोड ४७ लाख खुद खरिद गरी एक खर्ब ११ अर्ब ९७ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ७७ करोड ७८ लाख खुद खरिद गरी एक खर्ब दुई अर्ब ८७ करोड तरलता प्रवाह गरिएको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको भदौ मसान्तसम्ममा अमेरिकी डलर ५६ करोड २० लाख बिक्री गरी ७५ अर्ब ३९ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ४४ करोड बिक्री गरी ५८ अर्ब २६ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको राष्ट्र बैंकको भनाइ छ ।