काठमाडौं । रसुवामा प्रशोधन भएर करिब एक दर्जन देशमा निर्यात हुँदै आएको ‘रसुवा नेचुरल स्प्रिङ वाटर’ले जापानमा यस वर्षको पिउने पानीको उच्च गुणस्तर ‘गोल्ड क्वालिटी अवार्ड’ पाएको छ ।
जापानमा एक वर्षअघि व्यावसायिक बिक्रीको अनुमति पाएको नेपालको पहिलो ‘मिनरल वाटर’ रसुवा नेचुरल स्प्रिङ वाटरलाई टोकियोमा हालै एक कार्यक्रमका बीच जापान अक्वा सोमेलियर एसोसिएसनले सो अवार्ड हस्तान्तरण गरेको हो । अवार्ड नेपाली राजदूतावास जापानका राजदूत डा दुर्गाबहादुर सुवेदीको उपस्थितिमा अक्वा सोमेलियर एसोसिएसनका प्रमुख यामानाकी आकीले रसुवा नेचुरल स्प्रिङ वाटर जापान बिक्री वितरण गर्दै आएको हार्मोनी कम्पनी लिमिटेड जापानका अध्यक्ष योकोयामा दाईगोलाई हस्तान्तरण गरेकी थिइन् । जापान अक्वा सोमेलियर असोसिएसनले जापानमा बिक्री वितरण हुने पिउने पानीको कम्पनीहरूमध्येबाट एकलाई हरेक वर्ष गुणस्तरको आधारमा ’गोल्ड क्वालिटी अवार्ड’ प्रदान गर्दै आएको छ ।
जापान अक्वा सोमेलिएर एसोसिएसनले दिने पानीको गुणस्तर मापनको यो अवार्ड तीन वर्षसम्म कायम रहने हार्मोनी जापानका निर्देशक केशवराज घिमिरेले जानकारी दिए । जापान अक्वा सोमेलियर एसोसिएसन जापानमा बिक्री गर्ने अनुमति पाएको विदेशबाट आयातित पिउने पानीको अनुगमन गर्ने सरकारले तोकेको आधिकारिक निकाय हो । कार्यक्रममा राजदूत डा सुवेदीले नेपालको हिमाली भेगको उच्च गुणस्तरको पिउने पानीको जापानमा बिक्री हुनु त्यसमा पनि यहाँको उच्च गुणस्तरको अवार्ड प्राप्त गर्नु नेपाली व्यवसायीहरूका लागि सुनौलो मौका भएको बताए । नेपालमा उत्पादन र पाइने अमूल्य खनिज पदार्थहरूको जापानमा बजारीकरणको उच्च सम्भावना रहेको उनले बताए । रसुवा नेचुरल स्प्रिङ वाटर रुगंगा नेचुरल वाटर प्रालिले उत्पादन गर्दै आएको छ ।