म्याड्रिड । स्पेनको बाढी प्रभावित भ्यालेन्सिया क्षेत्रको भ्रमण गर्न गएका राजा फिलिप र उनकी पत्नी रानी लेटिजियामाथि मानिसहरूले माटो हानेका छन् । बीबीसीका अनुसार त्यहाँ उपस्थित मानिसहरूले ‘हत्यारा’ र ‘लाज मान’ भन्ने नारा लगाएका थिए ।
राजा फिलिपसँग स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज पनि उपस्थित थिए । जनताले उनलाई नेताहरूले बाढी रोक्नको लागि पहिल्यै केही नगर्नुको कारण सोधिरहेका थिए ।
भीडलाई रोक्न प्रहरी अगाडि बढ्नुपरेको थियो । आक्रमणमा खटिएका दुई सुरक्षा गार्ड घाइते भएका छन् । उनीहरूको निधारबाट रगत बगिरहेको अधिकारीहरूले बताएका छन् । त्यसपछि स्पेनका राजा र प्रधानमन्त्री आफ्नो भ्रमण अधुरो छाडेर राजधानी फर्किनुपरेको थियो । सो क्रममा मानिसहरूले प्रधानमन्त्रीको गाडीमा समेत आक्रमण गरेका थिए । स्पेन हालैको इतिहासमा सबैभन्दा ठूलो बाढीसँग लडिरहेको छ । बाढीमा परी कम्तीमा दुई सय १७ जनाको मृत्यु भएको छ ।
स्पेनको पूर्वी सहर भ्यालेन्सियामा आठ घण्टामा एक वर्ष बराबरको वर्षा भएको छ । करिब ५० वर्षको कीर्तिमानी वर्षा भएको छ । अकस्मात आएको बाढीका कारण धेरैले सुरक्षित स्थानमा जाने मौका पाएका छैनन् । भ्यालेन्सियाका सांसद जुआन बोर्डेराले राजा फिलिपको बाढी प्रभावित क्षेत्रको भ्रमण धेरै नराम्रो निर्णय भएको बताए । किनभने मानिसहरू उनीसँग धेरै रिसाएका छन् । अधिकारीहरूले उनलाई यसबारे सचेत गराए पनि उनले नसुनेको बताइएको छ । बाढी प्रभावित क्षेत्रमा राहत कार्यमा एक हजारभन्दा बढी सेना परिचालन गरिएको छ । तर, पर्याप्त सहयोग नपुगेको मानिसहरूले बताएका छन् ।