पेरिस, असार २३
विश्वकै अत्यधिक धेरै मानिस जाने मानिने फ्रान्सको लुवर संग्रहालय झण्डै साढे तीन महिनापछि पुनः खुलेको छ । कोरोनाभाइरसको संक्रमणको खतरा बढ्दै गएपछि बन्द गरिएको संग्रहालय सोमबारदेखि सर्वसाधारणका लागि पुनः खुल्ला गरिएको हो ।
पुनः खुल्ला गरिएपछिको पहिलो दिनमा सोमबार झण्डै सात हजार मानिसले संग्रहालय भ्रमण गरेको जनाइएको छ । जवकी कोरोनाभाइरसको संक्रमण फैलिनु अघिसम्म दैनिक ३० हजार मानिसले संग्रहालयको भ्रमण गर्ने गरेका थिए । संग्रहालयमा आउनेहरुलाई मास्क लगाउन अनिवार्य गरिएको संग्रहालयका अध्यक्ष तथा निर्देशक जेन लुक मार्टिनेजले जानकारी दिए ।
हरेक चरणमा ५०० आगन्तुकहरुलाई व्यवस्थापन गर्ने गरिएको उनले बताए । त्यसका लागि उनीहरुलाई आधारभूत स्वास्थ्य सतर्कता र मापदण्डहरु पुरा गर्नै पर्ने व्यवस्था पनि गरिएको उनको भनाइ छ । आगन्तुकहरुलाई बस्ने ठाउँमा सामाजिक दुरी कायम हुनेगरी व्यवस्था गरिएको र एकातिरबाट जाने र अर्कोतिरबाट निस्कने व्यवस्था गरिएको छ । एउटै बाटोमा फर्केर हिड्न नपाइने नियम लगाइएको मार्टिनेजले बताए ।
चर्चित यस संग्रहालय गत मार्च महिनाको १३ तारिखदेखि बन्द रहेको थियो । बन्दका कारण दशौँ लाख टिकट विक्रीबाट हुने आम्दानी गुमेको र धेरै टिकटहरु फिर्ता गर्नु परेको पनि उनले जानकारी दिए । संग्रहालयमा युरोपेली देशबाहेक चीन, दक्षिण कोरिया, जापान, अमेरिका, ब्राजिललगायतका देशबाट आउने आगन्तुकहरु नदेखिएको पनि उनले बताए ।