पोखरा । मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । सहकारीको करिब २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगी गरेको आरोपमा उनी पक्राउ परेको कास्की प्रहरीले बताएको छ । लम्साललाई कास्कीको पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित ससुराली घरबाट पक्राउ गरिएको हो । सहकारी ठगी कसुरमा संग्लन उनी लामो समयदेखि फरारको सूचीमा थिए । मित्रमिलन सहकारीको ठगी प्रकरणमा जोडिएका ३२ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । सहकारीका अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित सहकारीको क्षेत्र विस्तारको क्रममा घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली, सहकारीका सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल, राजु बराल, लेखा समिति संयोजक सूर्यबहादुर अधिकारी, लेखा समिति सदस्य पत्रकार अर्जुन गिरी लगायत यसअघि नै पक्राउ परेका थिए । पक्राउ परेका केही धरौटीमा छुटेका छन् ।