लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २२, बिहीबार दिउँसो शन्तिस्तुपा नजिकै पुम्दीकोटबाट छोरेपाटनतर्फ जान लागेको बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
दाङको तुल्सीपुर उपमहानगरपालिका ४ बस्ने वर्ष १७ की सन्ध्या रसाइली र सोही ठाउँकी वर्ष १९ की मनिषा रसाइली दुर्घटनामा घाइते भएका छन् । नव युग डान्स क्लब दाङबाट पोखरा भ्रमणका लागि आएको रा १ ख २१०६ नम्बरको बस दुर्घटना भएको कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।
प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाउँदा बस सडक छेउमा रहेको तिदुको रुखमा अड्किएको थियो । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले घाइते दुई जनालाई अस्पताल पठाएको र बाँकी २२ यात्रु सकुशल रहेको प्रवक्ता वसन्तकुमार शर्माले बताए। प्रहरीले अहिले बाटोमा कुनै अवरोध नरहेको र रुखमा अड्किएको बस क्रेनको सहायताले निकाल्ने प्रयत्न भइरहेको जनाएको छ ।