काठमाडौं, असार २४
वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्ष पदमा बिन्दिया श्रेष्ठ प्रधान चयन भएकी छन् । संस्थाको असार १९ गते साँझ बसेको सञ्चालक समितिको एक सय ५१औं बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा चयन गरेको हो । अध्यक्ष चयनअघि सोही दिन उक्त संथाले १९औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो । उक्त सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरू क्रमशः बिन्दिया श्रेष्ठ प्रधान, बिमला उपाध्याय घिमिरे, किशोरी थापा, नरेन्द्रकुुमार प्रसाई तथा सर्वसाधारणका तर्फबाट कृष्णराज सिलवाल र शिवप्रसाद मिश्रलाई निर्विरोध निर्वाचित गरेको थियो ।
उक्त सभापछि बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार करोड ७७ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा चार करोड ४८ लाख रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २७ करोड ७८ लाख ४८ हजार रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८२ करोड ४५ लाख ९५ हजार रूपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ३४ करोड ७९ लाख ८० हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो ।