काठमाडौं, असार २४
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले एक्जिम कोड नवीकरणको म्याद आगामी असोज मसान्तसम्मका लागि थप गर्न माग गरेको छ । नाडा अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा राजस्व समितिका उपसभापति कृष्णप्रसाद दुलालले भन्सार विभागका महानिर्देशक सुमन दाहालसँग भेटी एक्जिम कोड नवीकरणको म्याद असोजसम्म थप गर्न आग्रह गरेको नाडाले जनाएको छ ।
नेपालमा ३० हजार व्यावसायिक कम्पनीहरु एक्जिम कोडमा दर्ता रहेको नाडाले जनाएको छ । हालसम्म पनि बन्दाबन्दी कायम रहेको, सडकमा जोरविजोरको सवारीसाधन सञ्चालनमा रहेको, सर्वोच्च अदालतले शून्य समयको घोषणा गरेको स्थितिमा सो नवीकरण गर्ने कम्पनीहरु १ हजार ५ सयको संख्यामा मात्र रहेकोले सबै कम्पनीहरुले निर्धारित समयावधिभित्र नवीकरण गर्न नसक्ने अवस्था रहेको नाडाले जनाएको छ । सोही कारण नवीकरणको म्याद थप गर्न नाडाले अनुरोध गरेको हो ।
देशको जटिल र विषम परिस्थितिमा यसबाट व्यवसायीहरुलाई धेरै सहज हुने अपेक्षा नाडाले राखेको छ । एक्जिम कोड नवीकरण गर्ने म्याद असार मसान्तसम्म मात्र रहेको छ । उक्त छलफलमा दुलाललगायत महासंघका कार्यकारिणी सदस्य तथा रोजगार दाता समितिका उपसभापति भरतराज आचार्य, नाडाका सचिव सुरेन्द्र प्रधान तथा नेपाल उद्योग वाणिज्य महासंघका अधिकृत लोकराज जोशीलगायतको उपस्थिति रहेको थियो ।